अन्धविश्वासको पराकाष्ठा: पूर्व वडा सदस्यलाई मल–मूत्र खुवाउने दोषीको खोजी तीव्र

छानबिन न्यूज
पाठक संख्या 74
1 Min Read

२० बैसाख, बारा । एक्काइसौँ शताब्दीको आधुनिक समाज र कानुनी राज्यको उपहास गर्दै रौतहटको कटहरिया नगरपालिका–९ मा बोक्सीको अन्धविश्वासपूर्ण आरोपमा एक ५५ वर्षीया दलित महिला तथा पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई मानव मल–मूत्र खुवाइएको निकै जघन्य र हृदयविदारक घटना सार्वजनिक भएको छ।

स्थानीय पुकार माझीको घरमा आएको जन्तीमध्ये एक बालक बिरामी परेको विषयलाई जादु–टुनाको नाम दिँदै शनिबार साँझ घरभित्रै पसेर १५–२० जनाको समूहले कुटपिट गरी बियरको बोतलमा घोलेको मल–मूत्र जबर्जस्ती खुवाउनुले समाजमा अझै पनि जकडिएर रहेको कुरीतिको भयावह रूपलाई उजागर गरेको छ।

पीडिताकी छोरी सुमिला देवीले आफ्नी आमामाथि गरिएको यो क्रूरता रोक्न खोज्दा आफूमाथि समेत आक्रमण भएको बताएकी छिन् भने प्रहरीले अचेत अवस्थामा महिलाको उद्धार गरी उपचार गराए पनि अपराधी पक्राउ गर्न जाँदा दोषी पक्षबाट भएको अवरोधले कानुनी चुनौती समेत थपिदिएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर प्रसाद आचार्यले यस अमानवीय अपराधमा संलग्न पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी लगायतका फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको र उनीहरूलाई कडा कानुनी कठघरामा उभ्याइने दृढता व्यक्त गरेका छन ।

जसले परम्परा र भोजभतेरको नाममा लुकेको सामाजिक विकृतिलाई समूल नष्ट गर्नुपर्ने आवश्यकतालाई फेरि एकपटक झकझकाएको छ।

प्रतिक्रिया
शेयर