ईर्साद अन्सारी
२९ चैत,बारा । नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाएको प्रतिबन्धप्रति आपत्ति जनाउँदै सर्लाहीका सर्वदलीय दलहरूले तत्काल निर्णय सच्याउन माग गरेका छन्।
आज जिल्लामा सम्पन्न सर्वदलीय बैठकले नेपाल–भारतबीचको सदियौँदेखि कायम ‘बेटी–रोटी’को सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने र सीमावर्ती नागरिकको दैनिक सामाजिक तथा आर्थिक गतिविधिमा बाधा पुर्याउने निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालयलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका अध्यक्ष सत्यनारायण यादवसहित विभिन्न दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा विगतदेखि ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आवतजावत गर्दै आएका सवारीलाई शान्ति सुरक्षाको नाममा रोक्नु नियोजित भएको आरोप लगाइएको छ।
बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकताप्रति असन्तुष्टि व्यक्त गर्दै दलहरूले सवारी साधनलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न माग गरेका छन् भने माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।
