नयाँ संसद् सञ्चालन र शपथको तयारी: सिंहदरबारमा सर्वदलीय बैठक

छानबिन न्यूज
पाठक संख्या 144
1 Min Read
Oplus_16908288

५ चैत,काठमाण्डाैं । निर्वाचन आयोगबाट समानुपातिकतर्फका निर्वाचित सदस्यहरूले प्रमाणपत्र प्राप्त गरेसँगै नयाँ प्रतिनिधिसभा सञ्चालनको तयारीका लागि चैत ५ गते सिंहदरबारमा सर्वदलीय बैठक सम्पन्न भएको छ।

संघीय संसद् सचिवालयको आह्वानमा महासचिवको कार्यकक्षमा बसेको सो अनौपचारिक बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलहरू—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा मुख्यतया सांसदहरूको शपथ ग्रहण र आगामी बैठक सञ्चालनको कार्यसूचीबारे छलफल भएको र सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी चैत १२ गते सांसदहरूलाई शपथ गराउने आन्तरिक तयारी गरिएको छ।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ भने कांग्रेस (३८ सिट), एमाले (२५ सिट), नेकपा (१७ सिट), श्रम संस्कृति पार्टी (७ सिट), राप्रपा (५ सिट) र एक जना स्वतन्त्र उम्मेदवारको उपस्थिति रहेको यस संसद्को प्रतिवेदन निर्वाचन आयोगले बिहीबार नै राष्ट्रपति समक्ष बुझाउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
शेयर