पर्साका चारवटै क्षेत्रमा मतगणना सुरु: ‘हेभिवेट’ नेताहरूको भविष्य दाउमा

छानबिन न्यूज
पाठक संख्या 96
1 Min Read

ईर्साद अन्सारी

२२ फागुन,बारा ।  पर्साका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतगणना कार्य उत्साहजनक रूपमा सुरु भएको छ।

मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार क्षेत्र नम्बर १ र २ को मतगणना वीरगन्ज-१० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ भने क्षेत्र नम्बर ३ र ४ को गणना पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल माध्यमिक विद्यालयमा भइरहेको छ।

आज बिहान ७:३० बजेका लागि डाकिएको सर्वदलीय बैठक साढे ९ बजे सम्पन्न भएपछि सोही बैठकको निर्णयबमोजिम बिहान १० बजेदेखि विधिवत् रूपमा मतगणना शुभारम्भ गरिएको हो।

यसपटक पर्साका यी क्षेत्रहरूलाई निकै चासोका साथ ‘हट सिट’ का रूपमा हेरिएको छ, जहाँ पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरी लगायतका ‘हेभिवेट’ नेताहरू चुनावी मैदानमा रहेकाले प्रतिस्पर्धा निकै रोचक बनेको छ।

मतगणना स्थलको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ भने तारजाली र सीसीटीभीको प्रत्यक्ष निगरानीमा गणना कार्य अगाडि बढाइएको छ।

ठाकुरराम क्याम्पस र पोखरिया दुवै स्थानबाट हरेक एक-एक घण्टामा मत परिणामको ‘अपडेट’ दिने तयारी गरिएको छ, जसका कारण आम सर्वसाधारणमा चुनावी नतिजालाई लिएर ठुलो उत्सुकता देखिएको छ।

प्रतिक्रिया
शेयर