३ माघ,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित काटघाटमा शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग खण्डमा गुडिरहेको एक विद्युतीय सवारीसाधन (EV) मा आगलागी हुँदा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको EV नेपाल यातायात प्रा.लि. द्वारा सञ्चालित प्र.१–०१–००१ ख ४७२० नम्बरको फोटोन कम्पनीको बसमा बिहान करिब ३ः३० बजे अचानक आगो सल्किएको थियो।
चालक र १४ जना यात्रु सवार उक्त बसमा धुवाँ निस्कने बित्तिकै चालकले बुद्धिमतापूर्वक गाडी सडक किनारमा रोकेर सबै यात्रुलाई ओरालेका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोली घटनास्थल पुग्दा गाडी जलिसकेको भए पनि यात्रुहरू सुरक्षित रहेकाले उनीहरूलाई वैकल्पिक सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।
आगलागीको स्पष्ट कारण अझै खुल्न नसकेको र यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
