ईर्साद अन्सारी
३२ असारर,बारा । सरकारसँग वार्ता गर्नका लागि यहाँको सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेर मिटरब्याज पीडितको वार्ता टोली काठमाडौंतर्फ जाँदैछन्।
धनुषाको जनकपुरधामदेखि पैदल न्याय मार्च थालेका पीडितहरूसँग निजगढमा गृहमन्त्री सुधन गुरुङ्गले गरेको चौंथो चरणको वार्ता निष्कर्षविहीन बनेपछि उनीहरूलाई थप छलफलका लागि काठमाडौं बोलाइएको हो।
बाराको सिमराबाट काठमाडौंतर्फ प्रस्थान गर्ने वार्ता टोलीमा मिटरब्याजीविरुद्ध किसान मजदुर आन्दोलन, नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा, महासचिव मनोजकुमार पासवान, प्रवक्ता रिजन रानामगर, सदस्यहरू लक्ष्मी घिमिरे र किरण परियार, तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नबिन रहेका छन्।
सरकारको तर्फबाट वार्ताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ, गृह, भूमि व्यवस्था, सहकारी, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सम्मिलित टोली गठन गरिएको छ।


