२४ असाेज,काठमाण्डाैं । काठमाण्डाैंकाे मीनभवनस्थित निजामती (सिभिल) अस्पतालमा औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा ठूलो अनियमितता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले फार्मेसी युनिट इन्चार्ज दीपा ढुङ्गानासहित कर्मचारीहरू लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज न्यौपाने र सन्दीप तिवारीलाई प्रतिवादी बनाएको छ।
उनीहरूमाथि जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बिगो कायम गरिएको छ।
आरोपीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी सामान नै नभित्र्याई नक्कली बिलभरपाइ बनाएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले सफ्टवेयरमा औषधिको इन्ट्री गरे पनि वास्तवमा औषधि ल्याएका थिएनन्।
अस्पतालको स्टोर र भर्याङमुनि करोडौँ मूल्यका औषधि म्याद गुज्रिएर फालेको अवस्थामा भेटिएका छन्। यद्यपि, कम्प्युटरमा भने ती औषधिहरू अझै स्टकमा रहेको देखाइएको थियो।
महालेखा परीक्षकको प्रतिवेदनले पनि अस्पतालको फार्मेसीमा सन्तुलन परीक्षण (ट्रायल ब्यालेन्स) तयार नपारिएको भन्दै कैफियत औँल्याएको थियो। कर्मचारीहरूले म्याद सकिन लागेका औषधि फिर्ता गर्नुको सट्टा उल्टै आपूर्तिकर्ताको धरौटी रकम फिर्ता गरिदिएका थिए।
अस्पतालका कार्यकारी निर्देशकको निर्देशन विपरीत नक्कली प्रतिवेदन तयार पारेर सरकारी सम्पत्ति हिनामिना गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन।


