रास्वपाको प्रथम महाधिवेशन: आज बन्दसत्र र मनोनयन, भोलि मतदान हुने

छानबिन न्यूज
पाठक संख्या 46
2 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

८ असार,चितवन । चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्र आज बिहान ८:३० बजेदेखि सुरु हुँदैछ, जसका लागि केन्द्रका तीन ठूला हलमध्ये दुईवटा बन्दसत्रका लागि र एउटा खाजा-खाना व्यवस्थापनका लागि तयारी गरिएको छ।

कुल ४ हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरू सहभागी हुने यस बन्दसत्रको प्रारम्भमा अनुशासन आयोगका रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन् भने बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र १० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिने तालिका छ।

यसैगरी, बिहान १०:४५ बजे सहमहामन्त्रीबाट विधानमाथि छलफल र अनुमोदन गराएपछि ११:४५ बजे पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने दिउँसो १२:४५ बजे उनले नै अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

एक केन्द्रीय सदस्यका  अनुसार आज र भोलि दिनभरको खानाको व्यवस्था सोही स्थानमा गरिएको छ भने दिउँसो १ बजेको खानापछि निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार निर्वाचन प्रक्रियाको जानकारी र तालिका प्रकाशन गरी उम्मेदवार मनोनयन फारम वितरण सुरु गरिनेछ।

कार्यतालिका अनुसार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता, साँझ ६ बजे नामावली प्रकाशन, ६ देखि ७ बजेसम्म दाबीविरोध, ७ देखि ९ बजेसम्म जाँचबुझ, राति ९:१५ बजेसम्म नाम फिर्ता र राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

शनिबार गेष्टहाउस चौरमा उद्घाटन सत्र सम्पन्न भइसकेको परिप्रेक्ष्यमा, असार ९ गते मङ्गलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान हुनेछ, जसको मतगणना र परिणाम घोषणा मतदान सकिएको दुई घण्टापछि गरेर दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइने छ।

प्रतिक्रिया
शेयर