सीमा क्षेत्रबाट दैनिक लाखौँको राजस्व गुम्दै गरेको दाबी: सुरक्षा संयन्त्रमाथि उठ्यो प्रश्न ( भिडियाे सहित )

छानबिन न्यूज
पाठक संख्या 48
2 Min Read
Oplus_16908288

१५ जेठ,बारा ।  बाराको पचरौता नगरपालिका वडा नम्बर १ स्थित पिपरपाती नाकाबाट सुरक्षाकर्मीकै मिलोमतोमा दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व छली गरी अवैध रूपमा मालसामान नेपाल भित्रिने गरेको भन्दै स्थानीय बासिन्दाले गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन्।

बिहीबार राति स्थानीयले खिचेको भनिएको एक भिडियो सार्वजनिक भएसँगै यो विषय चर्चामा आएको हो, जसमा बिनाभन्सार कपडा, धानको बीउ, चकलेट, हार्डवेयर, किराना सामान, गुट्खा र मोबाइल एसेसरिज जस्ता सामग्री मोटरसाइकलमा लोड गरी नेपाल भित्र्याइएको दाबी गरिएको छ।

स्थानीय व्यवसायीहरूका अनुसार यस प्रकारको अवैध आयातले राज्यको भन्सार महसुल, भ्याट र अन्तःशुल्क जस्ता ठुलो परिमाणको राजस्व गुम्ने मात्र नभई वैध रूपमा कर तिरेर व्यवसाय गर्ने इमानदार व्यापारीहरू समेत आर्थिक संकटमा परी विस्थापित हुने अवस्था सिर्जना भएको छ।

यस संगठित तस्करीमा केही मुख्य नाइकेहरू सक्रिय रहेको र उनीहरूलाई स्थानीय प्रहरी चौकी तथा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) ले संरक्षण दिएको आरोप स्थानीयको छ।

यद्यपि, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायका स्थानीय अधिकारीहरूले भने यी आरोपहरूको खण्डन गर्दै सीमा क्षेत्रमा कडा निगरानी राखिएको र कुनै पनि किसिमको अनियमतितामा सुरक्षाकर्मीको संलग्नता असह्य हुने स्पष्ट पारेका छन्।

राज्य कोष र वैध अर्थतन्त्रमा गम्भीर असर पुर्‍याउने यस्ता गतिविधि र सुरक्षाकर्मीमाथि लागेका आरोपबारे गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु पर्ने तथा दोषी देखिएमा कडा कानुनी कारबाही गरिनुपर्ने माग उठिरहेको छ।

प्रतिक्रिया
शेयर