७ जेठ,काठमाण्डाैं । इन्स्टाग्राममा १ करोड १७ लाख फलोअर्स पार गर्दै भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टलाई उछिनेको केही घण्टामै कक्रोच जनता पार्टी (सीजेपी) को ‘एक्स’ (ट्विटर) अकाउन्टलाई भारतमा रोक लगाइएको छ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले अदालतको सुनुवाइका क्रममा बेरोजगार युवा र अनलाइन अभियन्ताहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेपछि त्यसको व्यंग्यात्मक जवाफका रूपमा सुरु भएको यस जेनजी (GenZ) मिम-आधारित अभियानले बेरोजगारी, प्रश्नपत्र चुहावट र संस्थागत जवाफदेहिताप्रतिको युवा निराशालाई समेटेर केही दिनमै विशाल डिजिटल आन्दोलनको रूप लिएको थियो।
तीव्र रूपमा फैलिरहेको यस व्यंग्यात्मक राजनीतिक अभियानको अकाउन्ट बिहीबार भारतमा बन्द गरिएको कुरालाई पार्टीका संस्थापक अभिजीत दीपकेले ‘अपेक्षा गरेजस्तै, कक्रोच जनता पार्टीको अकाउन्ट भारतमा रोकिएको छ’ भन्दै स्क्रिनसटसहित पुष्टि गरेका छन्, जसले सामाजिक सञ्जालमा यो अनलाइन आन्दोलनको चर्चा र युवा आक्रोशलाई अझ बढाएको छ।
