५ जेठ,काठमाण्डाैं । संसदीय सुनुवाइ समितिबाट अनुमोदित नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आज (५ जेठ २०८३, मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार शर्माको पदभार ग्रहण पनि आजै हुँदैछ। न्याय परिषद्ले पठाएका ६ जना सम्भावित उम्मेदवारमध्ये सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउन सरकारले सहज वातावरण निर्माण गरेको थियो।
त्यसका लागि सरकारले ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जना मात्र उपस्थित भएर पनि निर्णय गर्न सक्ने खुकुलो प्रावधानसहितको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो।
सोही अध्यादेशको जगमा बसेर बसेको परिषद्को बैठकले प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको तीव्र असहमतिका बीच बहुमतका आधारमा शर्माको नाम सिफारिस गरेको हो।
सर्वोच्च अदालतमा हाल सबैभन्दा वरिष्ठतम् न्यायाधीशका रूपमा सपना प्रधान मल्ल रहेकी र वरीयताक्रम अनुसार उनी नै प्रधानन्यायाधीशको मुख्य आकांक्षी भए पनि विगतको वरिष्ठताक्रमको स्थापित परम्परालाई मिच्दै चौथो नम्बरका व्यक्तिलाई सिफारिस गरिएपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि गम्भीर प्रश्न उठेको छ।
सरकार र परिषद्को यो कदमको नेपाल बार एसोसिएसन लगायतका सरोकारवाला निकायहरूले कडा विरोध गरिरहेका छन्।
