निजी सञ्चारमाध्यमलाई मर्का पर्ने गरी विज्ञापन वितरण गर्ने निर्णयविरुद्ध पत्रकार महासङ्घ बाराद्वारा ज्ञापनपत्र बुझाइयो

छानबिन न्यूज
पाठक संख्या 102
1 Min Read

१५ वैशाख,बारा । सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ बाराले जिल्ला समन्वय समिति बारा मार्फत् जिल्लाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ ।

शाखाका अध्यक्ष रमेश सुबेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान सहितकाे पुगेको टोलीले सञ्चार क्षेत्रमाथि परेको असरप्रति गम्भीर ध्यानाकर्षण गराउँदै निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई आग्रह सहितको ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते जारी सचिवस्तरीय निर्णयअनुसार सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएकाले उक्त निर्णयले निजी सञ्चारमाध्यमलाई प्रत्यक्ष रूपमा असर पार्ने र विभेद सिर्जना गर्ने उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमार्फत जिल्ला समन्वय समिति बारालाई जिल्लाभित्रका सबै स्थानीय तहसँग समन्वय गरी उक्त निर्णय कार्यान्वयन नगर्न र पुनर्विचारका लागि पहल गरिदिन अनुरोध गरिएको छ । साथै, सबै सञ्चारमाध्यमलाई समान व्यवहार हुने वातावरण निर्माण गर्न पनि जोड दिइएको छ ।

प्रतिक्रिया
शेयर