६ बैसाख,काठमाण्डाैं । उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी सिन्पो क्षेत्रबाट समुद्रतर्फ लक्षित गरी छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा सुरक्षा तनाव पुनः चुलिएको छ ।
करिब १४० किलोमिटर दूरी तय गरेका यी मिसाइलहरू पनडुब्बीबाट प्रहार गरिएको हुनसक्ने आशङ्काबीच दक्षिण कोरिया, अमेरिका र जापानले आफ्नो निगरानी र सूचना आदानप्रदानलाई तीव्र बनाएका छन् ।
विशेष गरी दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङको विदेश भ्रमणको केही घण्टाअघि र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले प्योङयाङको आणविक विकासमा ‘गम्भीर प्रगति’ भएको चेतावनी दिएको पृष्ठभूमिमा भएको यो परीक्षणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सिन्पो क्षेत्रमा रहेको प्रमुख शिपयार्ड र उत्तर कोरियाको बढ्दो हतियार महत्त्वाकाङ्क्षाले क्षेत्रीय शान्तिमा जोखिम थपेको भन्दै जापान र अमेरिकाले कडा विरोध जनाएका छन् भने दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।
सन् २०१९ यता आणविक वार्तामा गतिरोध कायमै रहेका बेला, आगामी मे महिनामा हुने भनिएको ट्रम्प-सी शिखर सम्मेलनअघि आफ्नो मोलतोल शक्ति बढाउन उत्तर कोरियाले यो रणनीतिक प्रदर्शन गरेको हुनसक्ने विश्लेषकहरूको ठहर छ ।
