स्वदेशी बजार जोगाउन सरकारको कदम: भारतीय सामान आयातमा ‘१०० रुपैयाँ’ को कडा नियम

छानबिन न्यूज
पाठक संख्या 79
2 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२ बैसाख,बारा । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामग्रीमा भन्सार नियमलाई थप कडाइका साथ लागू गरेको छ ।

जसअनुसार अब भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार शुल्क तिर्नुपर्नेछ।

अर्थ मन्त्रालयले २०८२ जेठ १५ मा प्रकाशित गरेको परिष्कृत ‘यात्रुको भन्सार सुविधा’ सम्बन्धी नियम अन्तर्गत यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो, जसलाई प्रभावकारी बनाउन मधेस प्रदेशका आठवटै जिल्ला सहित विराटनगर र वीरगञ्ज जस्ता प्रमुख नाकाहरूमा सुरक्षा निकाय र भन्सार कार्यालयले माइकिङ गरी सर्वसाधारणलाई सूचित गरिरहेका छन्।

यसअघि सीमा क्षेत्रमा यस्तो नियम व्यवहारिक रूपमा खुकुलो भए पनि नेपाली उद्योगी र व्यापारीहरूले स्वदेशी बजार मर्कामा परेको गुनासो गरेपछि सरकारले यसपटक भन्सार जाँचपासमा विशेष कडाइ गरेको हो।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार नयाँ नियम राजपत्रमा आएपछि स्थलमार्गबाट आउने यात्रुहरूका लागि हवाई मार्गको जस्तो विशेष छुटको सुविधा हटाइएको छ, यद्यपि भारतीय सेनामा कार्यरत नेपाली र विद्यार्थीहरूलाई भने ल्यापटप जस्ता निश्चित सामग्रीमा केही सहुलियत दिइएको छ।

विभागको यो कदमले भारतीय बजारमा हुने नेपाली मुद्राको पलायन रोक्ने, नेपाली बजारलाई राहत दिने र चाडपर्व वा विवाहको नाममा हुने ठूलो परिमाणको अनौपचारिक आयातलाई निरुत्साहित गर्ने लक्ष्य राखेको छ, जसले गर्दा अब सामान्य किनमेलका लागि सीमा पार गर्ने सर्वसाधारणले पनि अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने स्थिति सिर्जना भएको छ।

प्रतिक्रिया
शेयर