ट्रकको ठक्करबाट ट्राफिक इन्स्पेक्टर अभय लामाको निधन

छानबिन न्यूज
पाठक संख्या 70
1 Min Read

१ बैशाख,काठमाण्डाैं । काठमाडौंको तारकेश्वर नगरपालिका-८ डाँडागाउँमा आइतबार राति भएको सवारी दुर्घटनामा परी ३२ वर्षीय ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दुखद निधन भएको छ।

नेपालटारबाट फुटुङतर्फ जाँदै गरेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकलमा सवार लामालाई विपरीत दिशाबाट आएको बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले राति सवा ११ बजे ठक्कर दिएको थियो।

दुर्घटनालगत्तै उनलाई उद्धार गरी सुरुमा त्रिवि शिक्षण अस्पताल र पछि थप उपचारका लागि बीएण्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्।

२०७२ सालमा जवान पदबाट प्रहरी सेवा प्रवेश गरेका रामेछाप निवासी लामाले खुला प्रतिस्पर्धाबाटै असई र त्यसपछि इन्स्पेक्टरमा नाम निकाल्न सफल भई हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए।

प्रहरीले ठक्कर दिने ट्रकका चालक मकवानपुर मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
शेयर