२६ चैत,काठमाण्डाैं । आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा गैरकानुनी रूपमा सहभागी गराई पदीय मर्यादाको धज्जी उडाएको गम्भीर आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह अन्ततः पदमुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले गरेको छानबिनमा मन्त्री साहले पदीय दुरुपयोग गरी लामो समयदेखि निष्क्रिय रहेकी श्रीमतीलाई बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको पुष्टि भएपछि पार्टी सभापति रवि लामिछानेले बिहीबार नै उनलाई हटाउन प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेका थिए।
पार्टीको आदर्श र सिद्धान्तमा गम्भीर आँच पुर्याएको निष्कर्षसहित विधानको धारा २५ (४) (क) र धारा ६९ को ‘राइट टु रिकल’ (जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने) व्यवस्था बमोजिम गरिएको सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले साहलाई मन्त्री पदमुक्त गरेको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिएकी हुन्।
