ईर्साद अन्सारी
२८ फागुन,सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरे पनि थप तथ्यहरू पत्ता लगाउन सीआइबीको सहयोग मागेको हो भने बयानको सत्यता जाँच गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पोलिग्राफ टोली समेत परिचालन गरिएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले घटनास्थलबाट एक जना र आइतबार थप तीन जना नाबालकहरूलाई नियन्त्रणमा लिएको छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन मोबाइल लगायतका विद्युतीय सामग्री र बायोसेरोलोजिकल नमुनाहरू केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीले जानकारी दिएका छन्।
यसैबीच, वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका मृतकका बुबा इन्द्रबहादुर विक बुधबार साँझ वीरेन्द्रनगर आइपुगेका छन् र उनले दोषीलाई कडा कारबाही नभएसम्म र न्याय नमिलेसम्म शव नबुझ्ने अडान लिएका छन्।
प्रहरीले पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण र कल डिटेल्सका आधारमा अनुसन्धान भइरहेको र सबै रिपोर्ट आउन करिब एक हप्ता लाग्ने जनाएको छ।
