विषाक्त माछाको सेटिङ: सस्तो लोभमा ‘मन्द विष’ नखाऔँ, तस्कर र प्रशासनको मिलेमतो चिर्नु आवश्यक
बारा र रौतहटको सीमावर्ती अरुवा खोला बाँधलाई मुख्य ट्रान्जिट बनाएर भारतीय कुख्यात तस्कर स्यामसुन्दर कुश्वाहा र बारा बरियारपुरका मोतिलाल कुश्वाहाको प्रत्यक्ष संलग्नतामा भइरहेको विषाक्त माछाको तस्करीले जनस्वास्थ्यमाथि भयानक धावा बोलेको छ।
भारतको आन्ध्र प्रदेशबाट ल्याइएका मरेका माछालाई झरोखरको आँपको बगैँचामा भण्डारण गरी फर्मालीन जस्तो घातक रसायन मिसाएर नेपालका प्रमुख शहरहरू काठमाडौँ र पश्चिम नेपालका बजारसम्म पुर्याइनुले राज्यको सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
सीमादेखि गन्तव्यसम्म पुग्दा बाटोमा दर्जनौँ सुरक्षा पोस्ट र चेकजाँचका ढाटहरू भए तापनि तस्करका ती पिकअप गाडीहरू निर्धक्क गुडिरहनुले सुरक्षाकर्मी र तस्कर समूहबीच ‘आर्थिक लेनदेन’ को बलियो सेटिङ रहेको कुरालाई प्रस्ट पार्छ, अन्यथा यति ठूलो परिमाणमा हुने अवैध ढुवानी प्रहरीको नजरबाट लुक्नु असम्भव प्रायः छ।
अझ अचम्मको कुरा त, माछाको गुणस्तर परीक्षण गर्ने जिम्मेवारी पाएका क्वारेन्टाइन कार्यालयहरूले फर्मालीन युक्त र मरेका माछालाई कसरी ‘खान योग्य’ भनी प्रमाणित गरिरहेका छन् भन्ने पक्ष झन् रहस्यमयी र आपत्कालीन छानबिनको विषय बनेको छ।
फर्मालीन मृत शरीरलाई कुहिन नदिन प्रयोग गरिने औद्योगिक रसायन हो, जसको सेवनले क्यान्सर, मिर्गौला फेल र कलेजोको क्षति जस्ता निको नहुने रोग लाग्ने चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ।
त्यसैले, हामी सम्पूर्ण पाठक र उपभोक्ताहरूलाई विशेष अपिल गर्दछौँ कि बजारमा सस्तो पाइने लोभमा वा चमकधमकका आधारमा यस्ता विषाक्त माछा खरिद गरेर आफ्नो र परिवारको स्वास्थ्यलाई जोखिममा नपार्नुहोस्, किनकि तपाईंको भान्सामा पुगेको त्यो सस्तो माछा वास्तवमा एउटा ‘मन्द विष’ हो।
राज्यले यस्ता तस्करका नाइकेहरूलाई तत्काल कानुनी कठघरामा उभ्याउन, बाटोमा आँखा चिम्लिने भ्रष्ट सुरक्षाकर्मीलाई कारबाही गर्न र क्वारेन्टाइनको विश्वसनीयता जाँच गर्न ढिलाइ गर्नु हुँदैन; अन्यथा जनस्वास्थ्यमाथिको यो खेलबाडले सिङ्गो पुस्तालाई रोगी बनाउने निश्चित छ।
