ईर्साद अन्सारी
४ फागुन,बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादव आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी एमालेमा समाहित भएको घोषणा गरेका हुन्।
कानुनअनुसार उम्मेदवारी दर्ता गरी घरदैलो अभियानमा समेत जुटिसकेका यादवले मुलुकको वर्तमान विषम परिस्थितिमा राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख शक्तिको रूपमा स्थापित हुने विश्वासका साथ यो निर्णय लिएको बताएका छन्।
उनलाई एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेललगायतका नेताहरूले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

