केपी शर्मा ओलीलाई नै किन भोट? एमाले झापा क्षेत्र नं. ५ ले सार्वजनिक गर्‍यो ३० बुँदे अपिल

छानबिन न्यूज
पाठक संख्या 49
2 Min Read
Oplus_16908288

२ फागुन,झापा | नेकपा एमाले झापा क्षेत्र नं. ५ क्षेत्रीय कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा मतदान गर्नुपर्ने ३० वटा मुख्य कारणहरू समेटिएको एक विशेष अपिल सार्वजनिक गरेको छ।

‘केपी शर्मा ओलीलाई नै भोट किन?’ शीर्षक दिइएको उक्त अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका बुँदाहरू उल्लेख गरिएका छन्।

पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार, देशमा छाएको त्रासको वातावरण अन्त्य गरी शान्ति सुरक्षाको ग्यारेन्टी गर्न, सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन र खस्किएको जन-मनोबल उकास्न ओलीको नेतृत्व अपरिहार्य रहेको दाबी गरिएको छ।

अपिलमा झापा क्षेत्र नं. ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू— जस्तै एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी सडक र दमक-रवि-चिसापानी सडक खण्डको निर्माण सम्पन्न गर्न पनि ओलीलाई नै जिताउनुपर्ने उल्लेख छ।

​यसैगरी, नेपाल-चीन मैत्री औद्योगिक पार्कको निर्माण पूरा गर्न, दमक, गौरादह र गौरीगञ्जलाई आधुनिक ‘स्मार्ट सिटी’ का रूपमा विकास गर्न, र रतुवा, मावा एवं कमल जस्ता खोलाहरूको तटबन्धन कार्य सम्पन्न गर्न एमालेले मतदाताहरूसँग आह्वान गरेको छ।

युवाहरूलाई प्राविधिक शिक्षा र स्वरोजगारको अवसर प्रदान गर्ने, कृषिमा आत्मनिर्भर बन्ने तथा भूमिहीन, दलित र सुकुम्बासीका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एजेन्डाहरू पनि अपिलमा समेटिएका छन्।

नेता कार्कीले ओली र झापा क्षेत्र नं. ५ एकअर्काका पूरक रहेको चर्चा गर्दै, उनले यस क्षेत्रमा पुर्‍याएको विकास र मतदातासँगको व्यक्तिगत सामीप्यताले चुनाव जित्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। घरदैलो अभियानमा कार्यकर्ताहरूलाई बुझाउन सजिलो होस् भन्ने उद्देश्यले वितरण गरिएको यो अपिल प्रत्येक वडामा कम्तीमा १५ सय प्रति पुर्‍याउने लक्ष्य राखिएको छ।

Oplus_16908288
प्रतिक्रिया
शेयर