२६ माघ,पर्सा ।
वीरगञ्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा राजस्व छलीको आशंकामा छापा मार्न पुगेको सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीसँग स्थानीय व्यापारीहरूको झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।
विशेष सूचनाका आधारमा खानतलासीका लागि पुगेको टोलीलाई रोक्न खोज्दा भएको विवादपछि आक्रोशित भीडले ढुङ्गामुढा प्रहार गर्दा सशस्त्र प्रहरीको गाडीको सिसा फुटेको छ भने एकजना सुरक्षाकर्मी घाइते भई स्थानीय स्वास्थ्य संस्थामा उपचाररत छन्।
व्यापारीहरूले आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै राज्यले वैध व्यवसायीलाई पनि तस्कर सरह व्यवहार गरेर दुःख दिएको आरोप लगाएका छन् भने सशस्त्र प्रहरीले बिल देखाउँदा पनि अबरोध गरेपछि स्थिति बिग्रिएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा र प्रस्तावित सीमा सुरक्षा बलका अनुसार उक्त गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिई हाल लगत संकलन र मुचुल्का उठाउने कार्य भइरहेको छ।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ र गोदामधनीको पहिचानसहित थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक मोहन केसी र नायब उपरीक्षक विकास अधिकारीले जानकारी दिए ।
