केपी ओलीको नेतृत्वमा झापा–५ मा के–के भयो काम ?

छानबिन न्यूज
पाठक संख्या 32
4 Min Read
Oplus_16908288

२२ माघ,झापा । झापा क्षेत्र नं. ५ मा पछिल्ला १५ वर्षयता देखिएको भौतिक पूर्वाधार विकास, शैक्षिक विस्तार र आर्थिक गतिविधिले यस क्षेत्रको स्वरूप फेरिएको छ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक नेतृत्वमा झापा–५ ले विकासको स्पष्ट दिशा र भविष्यको नक्सा कोरेको स्थानीयको बुझाइ छ ।

एक दशकभन्दा बढी अवधिमा यहाँ सडक, पुल, तटबन्ध, शिक्षा, कृषि, सहरी सौन्दर्यीकरण र औद्योगिक पूर्वाधारमा उल्लेखनीय प्रगति भएको छ । राजमार्ग बाहेक मात्रै रतुवा नदीमा सातवटा पक्की तथा झोलुङ्गे पुल निर्माण हुनु झापा–५ को विकास यात्राको महत्वपूर्ण उपलब्धि मानिन्छ । यसले ग्रामीण बस्तीलाई बजार, शिक्षा र स्वास्थ्य सेवासँग जोड्न निर्णायक भूमिका खेलेको छ । कमल खोलामा क्याम्पा–धरमपुर जोड्ने पुल निर्माणसँगै मंगलबारे–क्याम्पा सडक कालोपत्रे भएपछि आवतजावत सहज बनेको छ ।

त्यसैगरी, पाडाजुगी–जिम्दारचोक चार लेन सडक निर्माण अघि बढाइए पनि हाल बजेट रोक्का हुँदा काम प्रभावित भएको छ । यद्यपि, उक्त सडकलाई गौरीगञ्जसम्म विस्तार गर्ने तयारी भइसकेको जनाइएको छ । इलामको चुलाचुली क्षेत्रमा पर्ने रतुवा नदीमा दुईवटा पक्की र एक झोलुङ्गे पुल निर्माण हुनु अन्तरजिल्ला सम्पर्क विस्तारको अर्को महत्वपूर्ण कडी हो । मदन भण्डारी राजमार्ग निर्माणमा तीव्रता आउनु र हुलाकी राजमार्गलाई गति दिनुले झापालाई पूर्व–पश्चिम तथा उत्तर–दक्षिण दुवै दिशाबाट जोड्ने रणनीतिक महत्व बढाएको छ ।

मावा खोलामा मिक्लाजुङ–उर्लाबारी जोड्ने पुल, केरखा–क्याम्पा हुँदै शिवसताक्षी जोड्ने सडक, बैगुन्धुरा–कोहबरा सडक, गौरादह स्कुलचौक सडक सम्पन्न हुनु र भानुमार्ग निर्माण तीव्र हुनु झापा–५ भित्रका सडक सञ्जाल विस्तारका उदाहरण हुन् । दमक–मधुमल्ला र दमक–ढुकुरपानी सडक निर्माणले नगर र ग्रामीण क्षेत्रबीचको दूरी घटाएको छ ।

बाढी र कटानको दीर्घकालीन समस्यालाई समाधान गर्न रतुवा नदीमा तटबन्ध निर्माण अघि बढाइएको छ । करिब दुई किलोमिटर बाँकी रहेको तटबन्ध यसै वर्ष सम्पन्न हुने जनाइएको छ । मावा नदीको तटबन्ध सम्पन्न भइसकेको छ भने कमल खोलामा पनि तटबन्ध निर्माण गरिएको छ, जसले बस्ती र कृषियोग्य जमिन सुरक्षित बनाएको छ ।

सहरी विकासतर्फ दमक बजारको सौन्दर्यीकरण, नदी ब्युटिफिकेसन, सिवेज ढल प्रणाली निर्माण र विपन्न वर्गका लागि नमुना बस्ती निर्माणलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यससँगै गौरादह स्मार्ट सिटी अवधारणाअन्तर्गत आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ। गौरादह पोखरी निर्माणले स्थानीय पर्यटन र वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । कृषि र आर्थिक गतिविधि विस्तारका लागि नमुना सहकारी खेती प्रवर्द्धनमा पूर्वाधार सहयोग गरिएको छ भने औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ। यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउने आधार तयार पारेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

शिक्षा क्षेत्रमा पनि झापा–५ ले उल्लेखनीय फड्को मारेको छ । जनता माध्यमिक विद्यालय गौरादह, दमक बहुमुखी क्याम्पस, ढुकुरपानी मावि, हिमालय मावि लगायतका विद्यालयमा पूर्वाधार विस्तार गरिएको छ । दमकमा सिटिइभिटी क्याम्पस सञ्चालनमा आएपछि प्राविधिक शिक्षा लिन चाहने युवालाई स्थानीय स्तरमै अवसर उपलब्ध भएको छ । गौरादह कृषि क्याम्पस स्थापना, भवन निर्माण र व्यवस्थापनले कृषि शिक्षा र अनुसन्धानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

स्थानीय अगुवाहरूका अनुसार, यी सबै योजनाले झापा–५ लाई केवल भौतिक रूपमा मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि सुदृढ बनाएको छ । ‘विकास केवल सडक र पुल मात्र होइन, शिक्षा, रोजगारी र जीवनस्तर सुधारसँग जोडिएको हुनुपर्छ’ भन्ने दृष्टिकोणअनुसार यहाँका योजना अघि बढाइएका बताइन्छ ।

पछिल्ला १५ वर्षको विकास यात्राले झापा क्षेत्र नं. ५ लाई भविष्यतर्फ उन्मुख गराएको भन्दै स्थानीयबासीले आगामी दिनमा अधुरा आयोजना सम्पन्न हुने र नयाँ योजनाले गति लिने अपेक्षा गरेका छन् । केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएका यी परियोजनाले झापा–५ लाई पूर्वी नेपालको विकासको एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार पारेको बताइन्छ ।साभार- दैनिक नेपाल

प्रतिक्रिया
शेयर