ईर्साद अन्सारी
३० पुस,काठमाण्डाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्रको विभाजन र विग्रह कांग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पार्दै नेतृत्व तह एकताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन्।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आम निर्वाचनको मुखमा पार्टी एकजुट हुनुपर्नेमा जोड दिएका हुन्।
विशेष अधिवेशनका नाममा भइरहेका गतिविधिलाई गम्भीरतापूर्वक लिँदै प्रवक्ता महतले नियमित अधिवेशनबाटै नयाँ नेतृत्व चयन गर्ने विकल्प खुला रहेको र अहिले समानान्तर गतिविधि गर्नुभन्दा छलफलमार्फत सकारात्मक निकास खोज्नुपर्ने बताए।
नेपाली कांग्रेस लोकतन्त्रको प्रमुख धरोहर भएको उल्लेख गर्दै उनले कांग्रेस कमजोर हुँदा देश र लोकतन्त्र दुवै संकटमा पर्ने चेतावनी दिएका छन्। पार्टी नेतृत्वले अझै पनि संवादबाटै सहमति खोज्ने विश्वास लिएका कारण मंगलबारको बैठक अनौपचारिक रूपमा टुंगिएको र भोलि बिहान ८ बजे पुनः बैठक बस्नुअघि नै ठोस परिणाम निस्कने अपेक्षा गरिएको उनले जानकारी दिए।
प्रवक्ता महतले विशेष अधिवेशनमा सहभागी नेताहरूलाई पार्टीको आधिकारिक निर्णयको सम्मान गर्दै एकताबद्ध हुन आग्रह गर्दै पार्टी एकजुट हुँदा नै सबैको क्षमता र योग्यताको सही उपयोग हुने उल्लेख गरे।
