बाजुरा र हुम्लाका स्थानीयबीच सीमा विवादलाई लिएर झडप, पाँच जना घाइते

छानबिन न्यूज
पाठक संख्या 86
2 Min Read
Oplus_16908288

५ जेठ,धनगढि ।  बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटमा अस्थायी प्रहरी चौकी भवन निर्माण गर्न लागिएको क्षेत्रमा विगतदेखि नै चलनभोग गर्दै आएको भन्दै हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले अडान लिँदै आएका थिए, जसको समाधानका लागि ठोस पहल हुन सकेको थिएन ।

यही सीमा विवादलाई लिएर मंगलबार बिहान थालीका स्थानीयले विरोध जनाउने क्रममा दुई पक्षबीच झडप हुँदा हिमाली गाउँपालिका–३ का ३४ वर्षीय वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुल बहादुर थापा गरी पाँच जना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घाइतेहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागे पनि अवस्था सामान्य छ ।

सो घटना हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान अन्तर्गत सैपाल हिमालको बेस क्याम्प गइरहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली त्यहाँ पुगेका बेला भएको हो ।

भ्रमण टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा आक्रोशित भई करिब ३०० को संख्यामा आएका थालीका स्थानीय आक्रमणमा उत्रिएपछि विवाद बढेको थियो र त्यसपछि स्थानीयले मेयर हमालसहितको टोलीलाई अघि बढ्न दिएका थिएनन् । सञ्चार सम्पर्क हुन नसकेका कारण मेयर हमालको टोली फर्कियो कि अघि बढ्यो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
शेयर