जेनजी आन्दोलन दमन प्रकरण: पूर्वगृहमन्त्री लेखक पक्राउ, ओलीलाई पक्राउ पुर्जी

छानबिन न्यूज
पाठक संख्या 84
2 Min Read
Oplus_16908288

१४ चैत,काठमाण्डाैं । नयाँ सरकार गठन लगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै राजनीतिक वृत्तमा ठूलो हलचल पैदा भएको छ।

उक्त निर्णयको केही घण्टाभित्रै प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखकको पक्राउलाई पुष्टि गरेका छन्।

यता, नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।

​गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनको दमनबारे अध्ययन गर्न सुशीला कार्की नेतृत्वको तत्कालीन अन्तरिम सरकारले जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त आयोगले बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो।

प्रतिवेदनमा उनीहरूमाथि मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम ‘लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरी ज्यान लिएको’ कसुरमा कारबाही गर्न भनिएको छ।

यद्यपि निवर्तमान सरकारले प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नगरे पनि यसका मुख्य अंशहरू सञ्चारमाध्यममा बाहिरिएका थिए।

​सरकारको निर्णय कार्यान्वयनका लागि गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग घनिभूत छलफल गरेका थिए।

प्रहरीले आधिकारिक लिखित आदेश माग गरेपछि मध्यराति कानुन सचिव पाराश्वर ढुंगानालाई समेत प्रहरी हेडक्वार्टर (नक्साल) बोलाइएको थियो।

कानुन सचिवले तयार पारेको लिखित आदेश र कानुनी परामर्शका आधारमा प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणको प्रक्रिया अगाडि बढाएको हो। यस प्रकरणले मुलुकको पछिल्लो राजनीतिक समीकरण र सुरक्षा व्यवस्थामा नयाँ मोड ल्याउने देखिएको छ।

प्रतिक्रिया
शेयर