बिकेन्द्र सुबेदी
८ माघ,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूको नामावली आज प्रकाशन गर्दैछ।
गत मंगलबार मनोनयन दर्ता भई बुधबार उम्मेदवारविरुद्ध परेका उजुरीहरूको जाँचबुझ सकिएपछि आयोगले आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको हो।
आयोगका अनुसार यस निर्वाचनमा कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा ३०८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
निर्वाचन कार्यतालिका अनुसार भोलि माघ ९ गते शुक्रबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन दिउँसो ३ बजेभित्र अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।
‘जेनजी’ आन्दोलनका कारण संसद विघटन भएपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको हो।
यस ऐतिहासिक निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्।
