२६ असार,बारा । घरबाट कपडा किन्न निस्किएर दुई दिनदेखि सम्पर्कविहीन बनेका कलैया उपमहानगरपालिका–२ दोहरी टोलका १७ वर्षीय आकाश महतो बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ ईनर्वासिरा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
जयराम महतोका छोरा आकाश गत असार २४ गते बुधबार बिहान घरबाट निस्किएपछि परिवारको सम्पर्कमा थिएनन्, जसको शवलाई बिहीबार अपराह्न करिब ४ः३० बजे स्थानीय बासिन्दाले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा घटनास्थल पुगेको टोलीले मृतकको पहिचान खुलाउँदै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ।
युवकको रहस्यमय मृत्युको ठोस कारण अझै खुल्न नसकेको उल्लेख गर्दै प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राखी विस्तृत अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको जनाएको छ।


