​बारामा भन्सार छलीको १५४ कार्टुन केरा र पिकअपसहित दुई जना पक्राउ

छानबिन न्यूज
पाठक संख्या 90
1 Min Read
Oplus_16908288

​ईर्साद अन्सारी

१० जेठ,बारा ।  बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ०९ कचोर्वा नयाँ बजारस्थितबाट प्रहरीले भन्सार छली गरी ल्याइएको १५४ कार्टुन अवैध केरा र एक थान पिकअप गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान अन्दाजी साढे पाच बजेको समयमा प्रहरी चौकी कचोर्वा बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि) देव बहादुर विष्टको कमाण्डमा खटिएको गस्ती टोलीले बा.प्र. ०१-०३० च ७११० नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार बरामद गरिएको अनुमानित मूल्य रु. १,५४,०००/- बराबरको केरा र अनुमानित मूल्य रु. ७,००,०००/- पर्ने पिकअप गाडी गरी जम्मा रु. ८,५४,०००/- (आठ लाख चौवन हजार) बराबरको मूल्यांकनसहित ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं. ५ बस्ने १९ वर्षीय चालक विश्वराज खड्का र सर्लाही धनकौल गाउँपालिका वडा नं. १ रामकल बस्ने २२ वर्षीय सहचालक सुनिल प्रसाद कुशवाहालाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका मानिस, सवारी साधन र बरामद केरालाई आवश्यक थप कारबाहीका लागि मूल भन्सार कार्यालय पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
शेयर