धनुषामा मिटरब्याज पीडितको अनिश्चितकालीन आन्दोलन सुरु: प्रहरी प्रशासनविरुद्ध धर्ना र प्रदर्शन

छानबिन न्यूज
पाठक संख्या 23
1 Min Read
Oplus_16908288

३ जेठ,जनकपुरघाम ।  धनुषाका मिटरब्याज पीडितहरूले विभिन्न माग राख्दै आइतबारदेखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्।

केही दिनअघि धनुषाको फुलगामा-४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पीडामाथि झन् पीडा थपेको भन्दै मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषाका जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले प्रहरी प्रशासनविरुद्ध आन्दोलनको घोषणा गरिएको जानकारी दिए।

मिटरब्याजीहरूलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरूलाई समातेर जेल पठाउने गरेको घटनाहरू अगाडि आउन थालेपछि बाध्य भएर जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्न लागिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रादेशिक भेलामा मधेश प्रदेशको मिटरब्याज समस्या समाधान गर्ने घोषणा गरे पनि र गत वैशाख २१ गते केन्द्र तथा प्रदेशमा ज्ञापनपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराउँदा समेत हालसम्म समाधानतर्फ कुनै ध्यान नदिइएकोमा अध्यक्ष यादवले खेद प्रकट गरे।

प्रदर्शनका क्रममा पीडितहरूले ‘मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर’, ‘सुदखोरलाई कारबाही गर’, ‘अदालतको एकलौटी फैसलाको आधारमा पक्राउ गर्न पाइँदैन’, ‘अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर’, र ‘दफा २४(क) लागू गर’ जस्ता नाराहरू लगाएका थिए।

धनुषामा मात्रै ७० हजारको संख्यामा रहेका यी पीडितहरूले पक्राउ परेकाहरूलाई रिहा नगरेसम्म र वास्तविक मिटरब्याजीहरूलाई पक्राउ नगरेसम्म आफ्नो शान्तिपूर्ण धर्ना र विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
शेयर