वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण: ६ जना पक्राउ, मुख्य अभियुक्त फरार

छानबिन न्यूज
पाठक संख्या 27
1 Min Read
Oplus_16908288

२ फागुन,पर्सा । वीरगन्जको आदर्शनगरस्थित मदन गुप्ता (मदन रुन्चे) को गोदाममा भण्डारण गरिएको अवैध सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गत माघ २६ गते बिहान भन्सार छलीका सामान बरामद गर्न पुगेका सशस्त्र प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि र सुरक्षाकर्मीको संयुक्त टोलीमाथि आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा चार नेपाली र दुई भारतीय नागरिकलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिकाका ३८ वर्षीय दिपराज सहनी मलाह, ४६ वर्षीय प्रमोद कुमार कानु, २० वर्षीय कुन्जन सर्राफ, विन्दवासिनी गाउँपालिकाका ५५ वर्षीय श्रीचन्द्र प्रसाद साह तथा भारत विहारका ४० वर्षीय प्रभु महतो र ३५ वर्षीय पृतम कुमार चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ भने घटनाका मुख्य अभियुक्त भनिएका वीरगन्ज घडिअर्वा निवासी मदन गुप्ता हाल फरार रहेकाले उनको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रतिक्रिया
शेयर