गौरस्थित करदाता सेवा कार्यालय सार्न खोज्दा रौतहटमा तनाव, बजार पूर्ण रूपमा बन्द

छानबिन न्यूज
पाठक संख्या 30
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

१ फागुन,गाैर । निर्वाचनको माहोलमा सबैको ध्यान मोडिएको मौका छोपी रौतहटको गौरस्थित करदाता सेवा कार्यालयका महत्वपूर्ण कागजात र फर्निचरका सामानहरू सुटुक्क आन्तरिक राजस्व कार्यालय सिमरा (बारा) लैजान खोजिएपछि शुक्रबार गौरमा ठूलो तनाव उत्पन्न भएको छ ।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिमा सामानहरू ट्रकमा लोड गरी लैजान खोज्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय व्यापारी र राजनीतिक दलका प्रतिनिधिहरूले कडा प्रतिवाद गर्दै अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

विगतमा प्रमुख जिल्ला अधिकारीसँग भएको सहमति विपरीत कार्यालय हटाउन खोजिएको भन्दै आक्रोशित स्थानीयले गौर बजार पूर्ण रूपमा बन्द गराई घण्टाघर चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।

उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीसहित नेकपा एमालेका नेता अजयकुमार गुप्ता र रास्वपा उम्मेदवार राजेश चौधरीले सरकारी कदमको कडा विरोध गर्दै कार्यालय यथावत नराखिए थप आन्दोलन गर्ने चेतावनी दिएपछि अन्ततः लोड गरिएका सामानहरू पुनः कार्यालयमै फर्काइएको छ।

प्रतिक्रिया
शेयर