त्रिपुरेश्वर आत्मदाह प्रयास घटना: घाइते गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु

छानबिन न्यूज
पाठक संख्या 49
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२६ असार,काठमाण्डाैं ।  मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

गम्भीर घाइते अवस्थामा रहेका उनको वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने यसबारे औपचारिक जानकारी दिइसकेको छैन।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले नेपालीको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको थियो।

अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकाले उनलाई आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनको उपचारका लागि डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो।

घटनालगत्तै उद्धार गरी अस्पताल भर्ना गरिएका नेपालीलाई बचाउन चिकित्सकहरूले अथक प्रयास गरे पनि सफल हुन सकेनन्।

प्रतिक्रिया
शेयर