वीरगन्जमा दुग्धजन्य र घ्यू उद्योगको संयुक्त बजार अनुगमन, मापदण्ड पालना गर्न निर्देशन

छानबिन न्यूज
पाठक संख्या 21
2 Min Read

एसके. चाैरसिया

९ जेठ,पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा वीरगन्जका दुग्धजन्य तथा घ्यू उद्योगहरूमा सौहार्दपूर्ण वातावरणमा बजार अनुगमन गरिएको छ ।

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजारमा बिक्री वितरण भइरहेका दुग्धजन्य पदार्थको गुणस्तर तथा मापदण्डको अवस्थाबारे जानकारी लिन टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवास्थित ‘डेरी फ्रेश उद्योग’ र वडा नं. १७ स्थित ‘फ्रेस पुजा घ्यू प्रोडक्ट’ मा निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा उद्योगहरूमा उत्पादन तथा बिक्री भइरहेका सामग्रीको लेबल, सरसफाइ, गुणस्तर र मापदण्ड सम्बन्धी विषयको सूक्ष्म निरीक्षण गरिएको र प्रारम्भिक रूपमा कुनै गम्भीर त्रुटि फेला नपरेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा फ्रेस पुजा घ्यू प्रोडक्ट विशेषगरी पूजापाठका लागि उपयोगी रहेको र डेरी फ्रेस उद्योगले उत्पादन गरेको घ्यू खाद्यान्नका रूपमा प्रयोगयोग्य रहेको जानकारी उद्योगका सञ्चालक राजाबाबु चौरसियाले गराउनुभयो भने टोलीले उद्योगहरूलाई आवश्यक कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशनसमेत दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत प्रकाश चौधरी, सदस्य श्रवण कुमार साह, वाणिज्यका मधुरेस प्रसाद साह, उपभोक्ताका तर्फबाट प्रकाश कुमार शाह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एसके. चौरसिया, पत्रकार बैजु झा तथा निरीक्षण अधिकृत सुनिल चौरसियासहित सम्बन्धित निकायका प्रतिनिधिहरूको विशेष उपस्थितिमा भएको उक्त अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने र उद्योगी व्यवसायीहरूलाई खाद्य ऐन तथा नियमअनुसार मात्र उत्पादन एवं बिक्री वितरण गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
शेयर