ईर्साद अन्सारी
५ फागुन,काठमाण्डाैं । भक्तपुरस्थित निजी निवासबाट प्रहरीद्वारा गएराति नियन्त्रणमा लिइएका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन अभियान’का केन्द्रीय संयोजक दुर्गा प्रसाईंलाई आज साँझ ५ बजेसम्म रिहा नगरे सरकारविरुद्ध ‘वारपारको आन्दोलन’ सुरु गर्ने चेतावनी दिइएको छ।
अभियानको संगठन विभागले एक विज्ञप्ति जारी गर्दै तोकिएको समयसीमाभित्र रिहाइ नभए सवारीसाधन, शैक्षिक संस्था, उद्योग–व्यवसाय र बजार पूर्ण रूपमा बन्द गराउनुका साथै निर्वाचनसँग सम्बन्धित अधिकारी, उनीहरूका परिवार र कार्यालयहरूविरुद्ध ‘सशक्त प्रतिरोध’ गर्ने घोषणा गरेको छ।
निर्वाचनको संघारमा प्रसाईं पटक–पटक पक्राउ परेपछि आक्रोशित बनेको अभियानले माघ २ गते भएको १२ बुँदे सम्झौता फागुन ७ गतेभित्र पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै माग पूरा नभए अनिश्चितकालीन नेपाल बन्द गर्ने तयारी समेत गरेको छ।
निर्वाचन नजिकिँदै गर्दा निर्वाचन अधिकृत र बुथहरू लक्षित गरी ‘जस्ताको तस्तै जवाफ दिने’ जस्ता आन्दोलनका कार्यक्रम सार्वजनिक भएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ।

