२ फागुन,काठमाण्डाै । नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले करिब दश वर्षको अन्तरालपछि मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ मार्फत निर्देशनमा पुनरागमन गरेका छन्।
शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुलमा विधिवत् शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको यस चलचित्रमा मानव मनोविज्ञानका सूक्ष्म आयामहरूलाई प्रस्तुत गरिने बताइएको छ।
विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको कथा विजय मल्लले लेखेका हुन् भने पटकथा तथा संवाद तयार पार्न निर्देशक शाहलाई प्रजल र सुगम दुलालले साथ दिएका छन्।
चलचित्रमा नीर शाहका साथै बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ। वि.सं. २०२४ मा ‘परिवर्तन’ चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरी ‘वासुदेव’, ‘वसन्ती’ र ‘सेतोबाघ’ जस्ता कालजयी चलचित्र निर्देशन गरिसकेका शाहको पछिल्लो अभिनीत चलचित्र ‘परान’ ले बक्स अफिसमा १८ करोडको सानदार व्यापार गरेको थियो।
कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेको यस चलचित्रले दर्शकमाझ पुनः एकपटक गहिरो वैचारिक प्रभाव छाड्ने अपेक्षा गरिएको छ।
