१ फागुन,काठमान्डाैं । बङ्गलादेशमा बिहीबार सम्पन्न आमनिर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिटमा विजय हासिल गर्दै स्पष्ट बहुमतसहित ऐतिहासिक जित दर्ता गरेको छ।
हालसम्म २८६ सिटको अन्तिम नतिजा सार्वजनिक भइसक्दा बहुमतका लागि आवश्यक १५० सिटको सीमा सहजै पार गरेको बीएनपीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खालिदा जियाका पुत्र तारिक रहमान अब देशको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।
१७ वर्षको निर्वासनपछि गत वर्ष डिसेम्बरमा स्वदेश फर्किएका रहमानले दुई निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरी दुवैमा जित हासिल गरेका छन् भने सन् १९८८ मा काजी जफर अहमदपछि बङ्गलादेशले ३५ वर्षपछि पुनः पुरुष प्रधानमन्त्री पाउने भएको छ।
सन् २००८ देखि २०२४ सम्म शेख हसिना नेतृत्वको अवामी लिग सत्तामा रहे पनि यसपटक जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धन ७० सिटमा खुम्चिएको छ, जसमा जमात प्रमुख शफीकुर रहमान ढाका–१५ बाट निर्वाचित भएका छन्।
यस ऐतिहासिक परिवर्तनप्रति भारत र अमेरिकाले सकारात्मक प्रतिक्रिया दिँदै नतिजाको स्वागत गरेका छन्। ढाकास्थित अमेरिकी दूतावासले बीएनपी र तारिक रहमानलाई बधाई दिँदै साझा समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रहमानलाई बधाई दिँदै बङ्गलादेशको लोकतान्त्रिक प्रगतिमा भारत सधैं साथ रहने र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।एजेन्सीकाे सहयाेगमा
