१९ असाेज,बारा । कलैया–वीरगन्ज सडक खण्डमा पर्ने दुधौरा पुलमा टिकटक भिडियो बनाउने क्रममा दुईजना युवा नदीमा खसेका छन्। आइतबार बिहान करिब ९:३० बजे भएको यस घटनामा एकजनालाई नदीबाट बाहिर निकालिएको छ भने अर्का एक युवा बेपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विक्की गोसाई र सोही स्थानका अन्दाजी २० वर्षीय अनुराग केशरी टिकटक बनाउँदै गर्दा पुलबाट नदीमा खसेका थिए। खसेकामध्ये अनुराग केशरी भने नदीबाट बाहिर निस्कन सफल भएका छन्। तर, अर्का युवा विक्की गोसाई भने बेपत्ता छन्।
प्रहरीले दिएको जानकारीअनुसार, युवाहरूले टिकटक भिडियो खिच्ने क्रममा नदीमा हाम फाल्ने प्रयास गर्दा यो दुर्घटना भएको हो। बेपत्ता गोसाईको खोजी कार्यका लागि घटनास्थलमा प्रहरी र स्थानीय युवाहरूको टोली परिचालन गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !