१८ असाेज,बारा । अविरल वर्षाका कारण कलैया सबस्टेसन डुबानमा परेपछि यस क्षेत्रको विद्युत सेवा अनिश्चितकालका लागि अवरुद्ध भएको छ । सबस्टेसनभित्र रहेका ब्रेकर र स्वीचयार्ड लगायतका महत्वपूर्ण उपकरणहरू पूर्ण रूपमा पानीमा डुबेका कारण सुरक्षाको कारण देखाउँदै विद्युत सुविधा अवरुद्ध गरिएको कलैया विद्युतले जानकारी गराएको छ।
पानीको निकास नभएसम्म विद्युत सेवा सुचारु गर्न नसकिने कलैया विद्युत वितरण केन्द्रले स्पष्ट पारेको छ । यद्यपि, पानीको स्तर कम हुनासाथ यथाशीघ्र विद्युत सुविधा सुचारु गरिने प्रतिबद्धता जनाइएको छ ।
यसैबीच, पानी कम भएलगत्तै सबस्टेसनभित्र जमेको पानी निकाल्नका लागि कलैया उपमहानगरपालिकाको बारुण यन्त्र (दमकल) परिचालन गरिएको छ । कलैया वितरण केन्द्रका प्रमुख सुधान्सु यादवले पानी निकासको कार्य भइरहेको पुष्टि गर्नुभएको छ ।
हाल कलैया वितरण केन्द्रबाट हुने सबै विद्युत सप्लाई अवरुद्ध रहेको छ । समाचार तयार पार्ने बेलासम्म फेरि पानी पर्न थालेकाले पानी निकास कार्यमा थप चुनौती देखिएको छ । तथापि, नेपाल विद्युत प्राधिकरण र कलैया उपमहानगरपालिका दुवै यस समस्या समाधानका लागि सकृय रूपमा लागिरहेको बताइएको छ ।
उपभोक्ताहरूलाई असुविधा भएकोमा वितरण केन्द्रले क्षमा मागेको छ र स्थिति सामान्य बन्ने बित्तिकै विद्युत आपूर्ति सुचारु गर्न अधिकतम प्रयास गरिने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !