१८ असाेज,सुनसरी । पाँचथर जिल्लाको कुम्यायक गाउँपालिका–३, कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा शनिबार दिउँसो भएको भीषण दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। यात्रु बोकेर पाँचथरबाट धरानतर्फ गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो पिकअप गाडी सडकबाट करिब ४०० मिटर तल तमोर नदी किनारमा खसेको हो।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलले घटनाको पुष्टि गर्दै मृतकहरूको पहिचान खुल्न बाँकी रहेको जानकारी दिएका छन ।
दुर्घटनामा परेर सात जना घाइते भएका छन्। घाइतेहरूमध्ये छ जनालाई एम्बुलेन्समार्फत सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पठाइएको छ भने एक जनालाई फिदिम अस्पताल, पाँचथर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार घटनास्थल पहाडी बाटोको मोड र भिरालो क्षेत्र भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धानमा सडक साँघुरो र ओरालो भागमा गाडीको नियन्त्रण गुमेको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !