१६ असाेज,काठमाण्डाैं । आज बडादशैंको मुख्य दिन, नेपालीहरूले मान्यजनको हातबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ मनाउँदै छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ। टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने र घटस्थापनामा स्थापित घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाइने समितिको भनाइ छ।
आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, लगायत ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य र दीर्घायुको आशीर्वाद लिने परम्परा छ।
आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्न सक्नेछन्। समितिका सदस्य डा. बासुदेव कोइराला (वासुदेवकृष्ण शास्त्री)का अनुसार बिहान ९ बजेर २३ मिनेटमा देवी बिसर्जन गर्ने र राज्य सञ्चालकले ११ बजेर ५३ मिनेटमा टीका लगाउनुपर्ने साइत छ, तर सामान्य मानिसका लागि विजयादशमी आफैंमा शुभ दिन भएकाले साइत खोज्नु नपर्ने मान्यता छ।
अर्का सदस्य देवमणि भट्टराईका अनुसार दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम भए पनि बाध्यतामा बिहानै पनि गर्न सकिन्छ। नेपालभर महान् पर्वका रूपमा मनाइने दशैं कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि विधिवत् समापन हुन्छ।









प्रतिक्रिया दिनुहोस् !