१५ असाेज,बारा । विधिको शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाप्रति समर्पित संस्था बारा जिल्ला अदालत बार एसोसिएसनले जिल्ला न्यायाधीश भोलानाथ ढकालको न्याय सम्पादनमा गम्भीर अनियमितता भएको भन्दै उहाँको बेन्च बहिष्कार गर्ने र आवश्यक कारबाहीका लागि न्याय परिषद्मा पत्राचार गर्ने निर्णय गरेको छ।
एसोसिएसनका अनुसार, माननीय न्यायाधीश ढकालले मिति २०८२ असोज ०५ गते सम्पत्ति शुद्धीकरण र राजस्व छलीका गरी ३ थान मुद्दामा फरार रहेका भारतीय नागरिक प्रतिवादी अशोक कुमार सिन्हालाई कानून विपरीत उनाउ व्यक्तिलाई हाजिर गराएको र धरौटीमा छाड्ने आदेश दिएको आरोप लागेको छ।
उक्त आदेश बिचौलियाको सेटिङमा ठूलो रकम लेनदेन गरी भएको भनी विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बार एसोसिएसनले न्यायाधीशको उक्त कार्यले न्यायपालिका प्रतिको जनआस्था, जनविश्वास र कानूनी शासनमा प्रत्यक्ष असर परेको ठहर गरेको छ।
एसोसिएसनले न्याय परिषद्लाई सम्बोधन गर्दै, यो विषयमा सुक्ष्म अनुसन्धान गरी न्यायाधीश, कर्मचारी तथा बिचौलिया समेतका व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न जोडदार माग गरेको छ र न्याय परिषद्बाट ठोस निर्णय नआएसम्म माननीय न्यायाधीश ढकालको बेन्च बहिष्कार गर्ने निर्णयसमेत गरेको छ।









प्रतिक्रिया दिनुहोस् !