१५ असाेज,बारा । बाराको सुवर्ण गाँउपालिका-८, मझरीयाकी ३३ वर्षीया सुरुजकली देवीलाई असोज ११ गते गाँउकै व्यक्तिहरूले बोक्सीको अमानवीय लाञ्छना लगाउँदै कुटपिट, अर्धनग्न बनाएर कपाल काटिदिएको घटना प्रकाशमा आएको छ।
पीडित सुरुजकली देवीका अनुसार गाँउकै बाबुसाहेब यादव, लालदेव पंडित, बिक्रम पंडित र सुरेश यादवसहितकाले जग्गा विवादको पुरानो रिसइबी साँध्दै, प्रहरी चौकीमा उजुरी दिन जाने क्रममा उनलाई बाटोमै छेकेर निर्घात कुटपिट गरी कपाल काटिदिएका हुन्।
यो घटनाले नेपाली समाजमा अझै पनि गहिरो जरा गाडेको अन्धविश्वास र पितृसत्तात्मक सोचको क्रूर रूपलाई उदाङ्गो पारेको छ। व्यक्तिगत दुश्मनी र जग्गा विवादलाई ‘बोक्सी’ जस्तो जघन्य आरोपको सहारा लिएर निर्दोष महिलामाथि सार्वजनिक रूपमा गरिएको यो शारीरिक र मानसिक उत्पीडन एउटा प्रतिनिधमूलक घटना हो, जसले २१औँ शताब्दीको सभ्य समाजलाई नै लज्जित तुल्याएको छ। पीडित महिलाले आफूमाथि यस्तो अमानवीय व्यवहार गर्नेहरूलाई ‘पशु’ को संज्ञा दिँदै हदैसम्मको कारबाहीको माग गरेकी छन्।
रोजगारीको सिलसिलामा काठमाडौँ रहेका उनका पति भुषण कुमार पंडितले छोरीको फोनबाट घटनाबारे थाहा पाउँदा आफू स्तब्ध भएको र तत्कालै घर फर्केको बताए।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिलिप थापाका अनुसार, पीडित सुरुजकली देवीले घटना भएकै दिन (असोज ११ गते) कलैया अस्पतालमा उपचार गराई सोही दिन किटानी जाहेरी दिएकी थिइन्। जाहेरीमा नाम उल्लेख भएका चार आरोपितमध्ये ५३ वर्षीय लालदेव पंडितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। बाँकी तीन जना आरोपितको खोजी कार्य भइरहेको छ। प्रहरीले चारै आरोपितविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार र बोक्सी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको जानकारी थापाले दिए।









प्रतिक्रिया दिनुहोस् !