१४ असाेज,काठमाण्डाैं । राष्ट्रिय युवा संघ नेपालले नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने र नेता महेश बस्नेतमाथि अनुसन्धान अगाडि बढाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
आज अध्यक्ष क्षितिज थेवेको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तिमा २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगले पर्याप्त प्रमाणबिना प्रारम्भिक चरणमै ओलीको राहदानी रोक्का गर्ने निर्णय गर्नुलाई लोकतान्त्रिक मूल्यविपरीत, अनुचित, पक्षपातपूर्ण र अराजनीतिक कार्य भनिएको छ।
‘राष्ट्रका लागि समर्पित’ व्यक्तित्वको राहदानी रोक्का गर्ने निर्णयलाई संघले हलुका ढङ्गको भएको टिप्पणी गरेको छ। त्यसैगरी, संघले नेता बस्नेतमाथि मुद्दा चलाउने तयारीको समाचारप्रति चासो व्यक्त गर्दै सरकारलाई प्रतिशोधको राजनीतिबाट टाढा रहन र यस्तो कार्यबाट बच्न आग्रह गरेको छ।
साथै, गृह मन्त्रालयले २४ भदौको घटनामा संलग्न केही व्यक्तिहरूलाई कारबाही नगर्ने निर्णयले ‘दण्डहीनतालाई प्रश्रय’ दिने र ‘कानूनी राज्यको उपहास’ हुने भन्दै आलोचना गरेको छ।
विज्ञप्तिमा जेन–जी आन्दोलनको मागप्रति सचेत रहेको जनाउँदै आगामी २१ फागुनमा प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
तर सरकार मूल उद्देश्यबाट विचलित भई राजनीतिक प्रतिशोधमा केन्द्रित भइरहेको आरोप लगाइएको छ। युवा संघले लोकतन्त्र, बहुदलीय व्यवस्था र जनअधिकारको पक्षमा निरन्तर लड्दै आएको र आगामी दिनमा पनि त्यही मार्गमा अघि बढ्ने स्पष्ट पारेको छ।









प्रतिक्रिया दिनुहोस् !