१० असोज, काठमाण्डाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट अगाडि बढाउन प्रहरीलाई कडा निर्देशन दिनुभएको छ। शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो ।
निरीक्षणपश्चात् गृहमन्त्री अर्यालले पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “सबै फाइलको ‘ब्रेक थ्रू’ हुन्छ। राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन्।” उहाँले अब कुनै पनि अनुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सीआईबीको नेतृत्वमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ। गृहमन्त्रीको यो निर्देशनलाई सीआईबीको नयाँ नेतृत्वलाई काम गर्ने वातावरण सिर्जना गर्ने र वर्षौंदेखि अल्झिएका संवेदनशील मुद्दाहरू टुङ्गो लगाउने सरकारी इच्छाशक्तिको रूपमा हेरिएको छ। गृहमन्त्रीको यो निर्देशनले अब ठूला भ्रष्टाचार र आपराधिक मुद्दाहरूको अनुसन्धानले गति लिने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस् !