६ असाेज,पर्सा । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर गाउँबाट करिब १९ किलो लागूऔषध चरेस बरामद गरेको छ।
सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जगतपुर गाउँस्थित एउटा बाख्रा राख्ने छाप्रोमा लुकाएर राखेको अवस्थामा १९ किलो १२६ ग्राम चरेस बरामद गरेको हो। चरेस एउटा कालो झोलामा प्याक गरी राखिएको थियो।
यस घटनामा लागूऔषध बरामद गरिए पनि यसको तस्कर भने फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको चरेसलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पोखरियालाई बुझाउने तयारी गरिएको छ।
बारम्बार लागूऔषध बरामद हुने तर तस्करहरु फरार हुने घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न उब्जिएको छ। यस घटनामा पनि प्रहरीले लागूऔषध मात्र बरामद गरी तस्करलाई किन पक्राउ गर्न सकेन भन्ने विषयमा स्थानीयले चासो व्यक्त गरेका छन्।









प्रतिक्रिया दिनुहोस् !