६ असाेज,बारा । बारा जिल्ला अदालतले २२ किलो सुन तस्करी प्रकरणमा संलग्न दुई भारतीय नागरिकलाई अदालतमा उपस्थित नगराई धरौटीमाआईतबार छाड्ने आदेश दिएको खुलासा भएको छ, जसले कानूनी वृत्तमा गम्भीर प्रश्नहरू खडा गरेको छ ।
अदालत स्रोतका अनुसार राजस्व चुहावट र सम्पत्ति शुद्धीकरणको मुद्दामा फरार रहेका अशोक कुमार सिन्हा र उनकी छोरी निवेदीका सिन्हालाई अदालतमा उपस्थित नगराई उनीहरूको स्थानमा अन्य दुई भारतीय नागरिकलाई उपस्थित गराएर धरौटीमा छाडिएको हो।
२०७७ साल कात्तिक १ गते वीरगञ्जबाट बरामद भएको २२ किलो ५७६ ग्राम सुनसहितको यो घटनामा अशोक सिन्हा मुख्य आरोपीमध्येका एक थिए । उनी गणेश अपार्टमेन्टको सोही फ्ल्याटमा बस्दै आएको पनि खुलेको छ, जहाँबाट सुन बरामद भएको थियो ।
अदालतको आदेशअनुसार अशोकलाई राजस्व चुहावटमा रु १५ लाख र सम्पत्ति शुद्धीकरणमा रु १५ लाख गरी कुल रु ३० लाख धरौटी मागिएको छ । त्यसैगरी, उनकी छोरी निवेदीकालाई राजस्व चुहावटमा रु १५ लाख र सम्पत्ति शुद्धीकरणमा रु १० लाख गरी कुल रु २५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
न्यायाधीश भोला ढकालको इजलास नम्बर १ बाट यो आदेश आएको हो । यद्यपि, स्रोतका अनुसार अदालतमा उपस्थित नभएका अशोक र निवेदीकालाई न्यायाधीशको क्वाटरमा बस्ने घरबेटीको सहयोगमा गाडीमा राखेर लगिएको दाबी गरिएको छ ।
कानूनी विज्ञहरूले मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार स्थायी बसोबास नभएका र भाग्ने सम्भावना भएका विदेशी अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने व्यवस्था हुँदाहुँदै यस घटनामा फरक प्रकृतिको आदेश आउनुले न्यायिक प्रक्रियामाथि नै शंका उत्पन्न गराएको बताएका छन् । यो घटनाले सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल र यसका मुख्य योजनाकारहरूमाथि पुनः अनुसन्धानको माग बढाएको छ ।










प्रतिक्रिया दिनुहोस् !