३ असाेज,बारा । बाराको कोल्हवी नगरपालिका-४, बगेवाकी करिब ३२ वर्षीया चन्द्रकला चौधरीको सर्पको टोकाइबाट मृत्यु भएको छ।
उनको उपचारमा लापरबाही भएको भन्दै आक्रोशित आफन्तले कोल्हवीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्।
बिहीबार दिउँसो ४ बजेतिर सर्पले चौधरीलाई टोकेको थियो। त्यसलगत्तै उनलाई उपचारका लागि कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँका चिकित्सकले सर्प विषालु नभएको भन्दै बाहिर अस्पताल लैजानु नपर्ने बताएको मृतकका आफन्तले जानकारी दिएका छन्।
तर, बिरामीको अवस्था सुधार हुनुको सट्टा झन् गम्भीर हुँदै गएपछि चिकित्सकले उनलाई निजगढस्थित अस्पतालमा रिफर गरेका थिए। निजगढ पुर्याउँदा पनि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीरगन्जको नारायणी अस्पताल पठाइएको थियो।
वीरगन्जको नारायणी अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उपचारमा चिकित्सकको लापरबाहीका कारण चौधरीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका हुन्।
घटनापछि स्थिति तनावग्रस्त बनेको थियो। स्थानीय पत्रकार नवीन चौधरीका अनुसार, प्रहरी परिचालनपछि अहिले स्थिति सामान्य बनेको छ।









प्रतिक्रिया दिनुहोस् !