३ असाेज,काठमाण्डाै । नेपालको संविधान २०७२ जारी भएको दिनको सम्झनामा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मनाइँदैछ। यस वर्ष सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ।
बिहान ८:३० बजे सुरु हुने उक्त समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। यद्यपि, वर्तमान राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकी प्रदर्शनलगायतका केही कार्यक्रमहरू भने स्थगित गरिएका छन्।
नेपाली जनताको लामो र बलिदानीपूर्ण संघर्षपछि संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएको थियो। दोस्रो संविधानसभाले धेरै प्रयास र बहसपछि यो संविधान जारी गरेको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संविधान जारी भएको घोषणा गर्नुभएको थियो।
यो संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित गरेको छ र यसलाई ऐतिहासिक उपलब्धिको रूपमा हेरिन्छ।









प्रतिक्रिया दिनुहोस् !