२ असाेज,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २४ गते नख्खु कारागारबाहिर भएको हिंसात्मक प्रदर्शनमा संलग्न आफ्ना कार्यकर्तालाई पार्टीसँगको आबद्धता तत्काल त्याग्न निर्देशन दिएको छ। पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी जारी गरेका हुन्।
सहमहामन्त्री आचार्यका अनुसार, पार्टी सभापति रवि लामिछाने नै नैतिक संकटमा पर्नेगरी गरिएको उग्र प्रदर्शनमा संलग्न जो कोहीलाई पनि बिना कुनै शर्त कानुनको दायरामा ल्याउनुपर्ने पार्टीको धारणा रहेको छ। उनले सामाजिक सञ्जाल र अन्य माध्यमबाट भएका हिंसात्मक र उग्र गतिविधि कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्।
“रास्वपा शान्ति र अहिंसात्मक राजनीतिमा विश्वास राख्छ। नख्खु कारागार परिसरमा भएको आगजनी र तोडफोडमा पार्टीका कुनै पनि तहका नेता वा कार्यकर्ता संलग्न देखिएमा सरकारले कानुनबमोजिम कारबाही गर्दा पार्टीको पूर्ण सहयोग रहनेछ,” आचार्यले भने।
रास्वपाले आफ्ना कार्यकर्ता र समर्थकलाई अराजक, उग्र र अवाञ्छित गतिविधिबाट टाढा रहन आग्रह गर्दै देशभरका सबै घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय अनुसन्धानमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।









प्रतिक्रिया दिनुहोस् !