१ असाेज,काठमाण्डाै । जनमत पार्टीभित्र आन्तरिक कलह चर्किएको छ, जहाँ पार्टीका पदाधिकारी र नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्वबाट पछि हट्न २४ घण्टे अल्टिमेटम दिएका छन्।
पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ जना नेताले सामूहिक हस्ताक्षरसहित एक पत्र जारी गर्दै यस्तो माग गरेका हुन्।
उनीहरूले नेतृत्वले मार्ग प्रशस्त गरेमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्था बनाउन एकजुट भएर लाग्ने उल्लेख गरेका छन्। यसै क्रममा, पार्टीको संगठन विभाग प्रमुख रहेका सीके राउतका आफ्नै दाइ जयकान्त राउतलाई पनि पद छाड्न भनिएको छ।
नेताहरूले जेन जी ले सञ्चालन गरेको आन्दोलनले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको र यसले सत्तारूढ गठबन्धन सरकार, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताहरूको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
पत्रमा भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता महसुस भइरहेका बेला जनमत पार्टीले पनि आत्मसमीक्षा गरी परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक छ।’
यद्यपि जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि हालको शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा अपारदर्शिता र जनभावनासँग विमुख गतिविधि देखिएको उनीहरूको आरोप छ।









प्रतिक्रिया दिनुहोस् !